काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । पछिल्ला दिनहरूमा सुधारभन्दा गिरावट बढी देखिएको नेप्से यस दिन २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घट्दा फ्लोट इन्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५५ अंकले कमजोर बनेका छन्।
बजार सूचक घटेपनि कारोबार रकम भने बढेको छ । कुल २४९ कम्पनीका दुई करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस दिन आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य ७.९३ प्रतिशतले बढ्दै सर्वाधिक लाभ गर्ने कम्पनी बनेको छ । अपर स्याङ्गी हाइड्रोपावरको मूल्य ६.२९ प्रतिशतले बढेको छ भने कालिका पावर र अपर हेवा खोला हाइड्रोपावरका सेयर ५ प्रतिशतभन्दा बढीले उक्लिएका छन् । विपरीत रूपमा सम्पदा लघुवित्तको सेयर मूल्य ७.०६ प्रतिशतले घट्दै सर्वाधिक घाटामा परेको छ भने ट्रेड टावर कम्पनी ५.८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ५१ करोड ६७ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रहेको छ । यसपछि हिमालयन रिइन्स्योरेन्स कम्पनी ३५ करोड ४५ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।