काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको नेपालको घरजग्गा बजारमा पुनः चलायमान हुने संकेत देखिएको छ। देशभरका मालपोत कार्यालयहरूको पछिल्लो तथ्यांकले गत वर्षको वैशाखको तुलनामा यस वर्ष सोही अवधिमा कारोबारमा उल्लेखनीय वृद्धि भएको देखाएको हो।
गत वर्ष वैशाखमा देशभर करिब १ लाख ४४ हजार घरजग्गा कारोबार भएकोमा यस वर्ष उक्त संख्या बढेर १ लाख ६९ हजार पुगेको छ। यसले समग्र कारोबारमा करिब १७.७० प्रतिशतको वृद्धि भएको पुष्टि गर्छ।
घरजग्गा कारोबारको मुख्य सूचक मानिने लिखत पारित (किनबेच) मा पनि सुधार देखिएको छ। गत वर्ष वैशाखमा ५२ हजार ४१५ वटा लिखत पारित भएकोमा यस वर्ष बढेर ५८ हजार ८८६ पुगेको छ, जुन करिब १२.३४ प्रतिशतको वृद्धि हो।
ब्याजदर घट्नु, बैंकिङ प्रणालीमा तरलता सहज हुनु र सरकारले कित्ताकाटसम्बन्धी नीति केही खुकुलो बनाउनुजस्ता कारणले बजारमा पुनः चहलपहल बढेको देखिन्छ। लगानीकर्ता र सर्वसाधारण पुनः घरजग्गा खरिदबिक्रीतर्फ आकर्षित हुन थालेका छन्।
उपत्यकाबाहिरका सहरहरूमा कारोबार अझै बढी बढेको देखिएको छ। विशेषगरी दाङ जिल्लामा सबैभन्दा धेरै वृद्धि भएको छ। तुलसीपुर र घोराही मालपोत कार्यालयमा किनबेच उल्लेखनीय रूपमा बढेको छ। त्यस्तै कैलालीको धनगढी, झापाको भद्रपुर र रुपन्देहीको बुटवलमा पनि बजार चलायमान भएको छ।
काठमाडौं उपत्यकाभित्र भने भक्तपुर र ललितपुरको लगनखेल क्षेत्रमा कारोबारको आकर्षण बढी देखिएको छ।
तर, कारोबार बढे पनि घरजग्गा धितोमा लिइने बैंक ऋणमा भने उल्लेखनीय सुधार देखिएको छैन। रोक्का (ऋणका लागि धितो राख्ने) संख्या करिब स्थिर रहँदा फुकुवा (ऋण तिरेर धितो मुक्त गर्ने) संख्या भने उल्लेखनीय रूपमा बढेको छ। यसले मानिसहरू नयाँ ऋण लिनुभन्दा पुरानो ऋण तिर्नतर्फ केन्द्रित भएको संकेत गर्छ।
यता, मालपोत कार्यालयहरूमा प्रशासनिक कामको चाप पनि बढेको छ। विशेषगरी जग्गाको विवरण संशोधन गर्ने कार्यमा दोब्बरभन्दा बढी वृद्धि देखिएको छ। गत वर्षको तुलनामा संशोधन कार्य १०२ प्रतिशतभन्दा बढीले बढेको छ।
बाँकेको नेपालगन्ज र काठमाडौंको कलंकी मालपोत कार्यालयमा यस्तो वृद्धि झनै उच्च देखिएको छ। अघिल्लो वर्ष न्यून रहेका संशोधनका काम यस वर्ष हजारौंमा पुगेका छन्।
समग्रमा हेर्दा, घरजग्गा बजारमा सुधारको संकेत देखिए पनि ऋण प्रवाहमा सुस्तता र प्रशासनिक कामको बढ्दो चापले बजार पूर्ण रूपमा सन्तुलित भइसकेको भने देखिँदैन।