काठमाडाैं - गीतकार डा. शिव सुवेदीको नयाँ गीत "म त तिम्रो हैन" सार्वजनिक भएको छ। काठमाडाैंमा गीतकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा पूर्व कानुन मन्त्री,नेकपा एमालेका नेता पदम गिरीले सो गीतको लोकार्पण गर्नु भयो ।
उहाँले समाजलाई जीवन्तता दिन गीत संगीतको ठूलो भूमिका रहेको बताउँदै गीत संगीतमा देखिएको विकृतिलाई न्यूनीकरण गर्न पहल गर्नु पर्नेमा जोड दिनु भयो । सस्तो लोकप्रियता भन्दा पनि सबैको मन जित्ने गीतहरू सिर्जना गर्नु पर्ने उहाँको भनाइ थियो।
डा. सुवेदीले शब्द र संगीत भरेको उक्त गीतमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र शान्ति श्री परियारले आवाज दिएका छन्। प्रेममा बिछोड भएका मायालु जोडीको कथालाई कलात्मक रुपमा उठाइएको गीतले सबैको मन जितेको छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै साहित्यकार आनन्द अधिकारीले गीतको समालोचना गर्दै नेपाली कला संस्कृतिको चर्चा गरे। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा, गीतकार राजकुमार बगर, वैकुण्ठ महत, मोडल सनम कठायत लगायतले शुभकामना व्यक्त गरे।
गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनाइएको छ। युवा निर्देशक मौसम हिमालीको कलात्मक निर्देशन रहेको गीतमा ललन चिमोरिय, लोमस शर्मा र सनम कठायतले अभिनय गरेका छन्। गीतको सङ्गति संयोजन कृष्ण केसीले गरेका छन्।
रानी वनको शिरबाट सांगीतिक यात्रा सुरु गरेका सर्जक शिव सुवेदीले "घाम जस्तो चम्किलो जुन हुँदैन" देखि "बाँचेको छु धन्न" सम्मका लोकप्रिय गीतहरू सिर्जना गरी सकेका छन्।