रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढ्यो, अर्थतन्त्रमा सकारात्मक संकेत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८३ वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि १०.६ प्रतिशत रहेको थियो।

त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ पनि उल्लेख्य संख्यामा नेपाली श्रमिक विदेशिएका छन्। चालु आर्थिक वर्षको १० महिनामा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको थियो। रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिले मुलुकको बाह्य क्षेत्र र विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पारेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय