भारतका दुई राज्यहरू, बिहार र उत्तर प्रदेश, हालैको चट्याङ, आँधीबेहरी र वर्षाबाट गम्भीर रूपमा प्रभावित भएका छन्, जसमा कम्तीमा ६० जनाले ज्यान गुमाएका छन्। बीबीसीको समाचारअनुसार अप्रिल १०, २०२५ मा मात्रै बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
बिहार राज्यको आधिकारिक विवरणअनुसार, नालंदा जिल्लामा सबैभन्दा बढी १८ जनाको मृत्यु भएको छ। त्यस्तै, सिवानमा २, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर र जेहानाबादमा १-१ जनाको ज्यान गएको छ। यसअघि अप्रिल ९ मा प्रकाशित विवरणले बेगुसरायमा ५, दरभंगामा ४, मधुबनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको देखिएको थियो।
मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै बिहारका मुख्यमन्त्री नीतीश कुमारले जनही चार लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि आफ्नो राज्यमा मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन्। उत्तर प्रदेशको राहत आयुक्त कार्यालयका अनुसार अप्रिल १० मा मात्र २२ मानव र ४५ जनावरको मृत्यु भएको छ भने कम्तीमा १५ घरमा क्षति पुगेको छ।