काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय उत्साह देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएको संकेत नेप्सेमा देखिएको हो।
आज नेप्से परिसूचक २९.०० अंकले वृद्धि भई २७६०.८० विन्दुमा पुगेको छ। बजार परिसूचकसँगै कारोबार रकमसमेत उल्लेख्य रूपमा बढेको छ।
मूल्य र कारोबार दुवै पक्षबाट सुधार देखिएको आजको दिन कुल ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर किनबेच भए। सोही अनुसार बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
तुलनामा, गत बिहीबार ३१२ कम्पनीका २ करोड ६४ लाख कित्ता सेयर मात्रै किनबेच भएका थिए, जसको मूल्य ९ अर्ब ६८ करोड रुपैयाँ थियो।
आज बजार बढ्दासँगै सबै समूहका सूचकहरू सकारात्मक देखिए पनि जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा भने गिरावट आयो। बाँकी समूहहरू वृद्धि भएका छन्।
माइक्रोफाइनान्स समूह सबैभन्दा बढी ३.६६ प्रतिशतले र बैंकिङ समूह ३.५४ प्रतिशतले वृद्धि भएको छ।