काठमाडौँ - नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको प्रतिवेदनअनुसार भदौमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १५.५ प्रतिशतले बढेको छ भने विदेशतर्फको वस्तु तथा सेवा निर्यात ५.१ प्रतिशतले घटेको छ।
दशैं, तिहार जस्ता चाडपर्वको समयमा उपभोग्य वस्तु तथा सेवा खरिदको लागि साविकभन्दा बढी रेमिट्यान्स पठाइएको छ। विदेश निर्यात हुने केही सामान स्वदेशमै खपत हुन थालेपछि निर्यातमा गिरावट आएको हो। यसै अवधिमा आयात १.१ प्रतिशतले वृद्धि भएको छ।
केन्द्रीय बैंकका अनुसार, उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको भदौमा ८.१९ प्रतिशत थियो। शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ छ भने अमेरिकी डलरमा १६ अर्ब चार करोड रहेको छ।
नेपाल सरकारको भदौ मसान्तसम्मको खर्च एक खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन एक खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ छ। विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा १३.९ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाले ०.५ प्रतिशतले निक्षेप संकलन गरेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेकोछ।