काठमाडौं । दशैं बिदापछि लगातार दुई दिनसम्म भारी गिरावट देखिएको सेयर बजारमा बिहीबार सुधार देखिएको छ। मंगलबार र बुधबार दुई दिनमा १०३.९१ अंकले घटेको नेप्से परिसूचक आज २२.५९ अंकले वृद्धि भई २५८२.१८ बिन्दुमा पुगेको छ।
बजार खुलेको तीन मिनेटमै नेप्से १०२.४१ अंक अर्थात् ४ प्रतिशतले उछालिएपछि सकारात्मक सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार केही सम्हालिँदै गए पनि अन्त्यमा ०.८८ प्रतिशतको वृद्धि कायम रह्यो।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार ३१३ कम्पनीका एक करोड १८ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदै ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
अघिल्लो दिन ३५३ कम्पनीका एक करोड ३७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदै ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो।
आज अन्य समूह बाहेक सबै समूहका सेयर मूल्यमा सुधार आएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार साँझ सेयर धितो कर्जामा लगाइएको २५ करोड रुपैयाँको सीमा हटाएपछि बजारमा उत्साह देखिएको विश्लेषण गरिएको छ।