विपक्षीको नाराबाजीबीच निर्वाचन संशोधन विधेयक बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा मा विपक्षी दलको नाराबाजी र अवरोधकै बीच प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ।

विपक्षी सांसदहरूले संसद्को वेल घेराउ गर्दै विरोध जारी राखिरहेका बेला सभामुखले बहुमतका आधारमा प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन्।

विधेयकमाथिको छलफलमा कुनै पनि सांसद सहभागी भएनन्। उक्त विधेयक प्रधानमन्त्री बालेन शाह को तर्फबाट कानूनमन्त्री सोविता गौतम ले संसद्मा प्रस्तुत गरेकी थिइन्।

तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने अडान राख्दै विरोध जनाएका छन्।

यसैबीच बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ। उक्त प्रस्तावमाथि पनि कुनै सांसदले छलफलका लागि नाम टिपाएका थिएनन्।

प्रतिक्रिया