बागलुङ । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र, काठेखोला–५ द्वारा आयोजित परमानन्द स्मृति कभर्डहल उद्घाटन तथा विविध खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन हरिहर संन्यास आश्रम देवघाट, तनहुँका पीठाधीश्वर सन्त समाज अध्यक्ष श्री १००८ ज्ञानानन्द स्वामीले गर्नुभएको हो।
उद्घाटन समारोहमा स्वामी ज्ञानानन्दले देश वा विदेश जहाँ भए पनि मातृभूमि, माटो र संस्कृतिप्रतिको माया कायम राख्दै युवाहरूले खेलकुद, सेवा र सांस्कृतिक चेतनामा योगदान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले सभ्य र सुंस्कृत समाज निर्माणमा युवाहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो।
उक्त कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलक, दीपवे फाउन्डेशनका निर्देशक दिपक सुवेदी, बिहुँकोट समाज जापानका उपाध्यक्ष टिकाराम कंडेल, डा. रामचन्द्र अधिकारी र हरि प्रसाद कंडेललगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष कृष्णप्रसाद कंडेलले गर्नुभएको थियो भने सञ्चालन सचिव सन्तोष पुनले गर्नुभएको थियो।
कभर्डहल उद्घाटनसँगै कराते र फुटबल प्रतियोगिता सम्पन्न भएका छन्। कराते प्रतियोगितामा ढोरपाटन, बडिगाड, बिहुँकोट र बागलुङ गरी चार डोजोका खेलाडीहरूको सहभागिता रहेको थियो। सात इभेन्टमा भएको १४ प्रतिस्पर्धामा ढोरपाटन डोजोले सात स्वर्ण, तीन रजत र एक कास्य जित्दै प्रथम स्थान हासिल गर्यो। बागलुङ डोजोले चार स्वर्ण, तीन रजत र तीन कास्यसहित दोस्रो र बिहुँकोट डोजोले तीन स्वर्ण, आठ रजत र १२ कास्य जित्दै तेस्रो स्थानमा रह्यो। विजेतालाई स्वर्णका लागि रु. १५००, रजतका लागि रु. १००० र कास्यका लागि रु. ५०० सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।
फुटबल प्रतियोगितामा १३ टिम सहभागी भएका थिए। फाइनल खेलमा भिमपोखरा ग्रीनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गर्यो र रु. २०,००० सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो। दोस्रो स्थानमा रहेको BSSDC टिमले रु. १२,००० र सेमिफाइनलमा पुगेका बिहुँकोट खेलकुद केन्द्र र भिमपोखरा पर्पलले रु. ४,०००–४,००० पुरस्कार प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट खेलाडीको रूपमा भिमसेन माध्यमिक विद्यालयका सुजल किशानलाई सम्मान गरिएको थियो।
कार्यक्रमका क्रममा संस्था कोषाध्यक्ष हरि प्रसाद सापकोटाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सन् २०७५ सालदेखि खेलमैदान निर्माण अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ११ सरकारी योजना, दुई सामाजिक संस्थाको सहयोग र आन्तरिक ऋणसहित कुल १४ योजनामार्फत रु. ७८ लाख ५६ हजार ४२३ बराबरको कार्य सम्पन्न भएको छ।
सामूहिक श्रम र स्थानीय सहयोगबाट ९४ मिटर लम्बाइ र २५ मिटर चौडाइको खेलमैदान, चार शौचालय, एक स्नानगृह, खानेपानी धारा र २५ मिटर लम्बाइ तथा १४ मिटर चौडाइको कभर्डहल निर्माण भई प्रयोगमा आएको छ। यी सबै उपलब्धि गाउँपालिका, प्रदेश सरकार, सामाजिक संघ–संस्था र स्थानीय युवाको सक्रिय सहभागिताबाट सम्भव भएको सापकोटाले बताउनुभयो।