काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो वृद्धि सहित ४.६३ अंकले उकालो लागेर ३५८६.२३ विन्दुमा पुगेको छ। नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार रकम पनि वृद्धि भएको छ। बुधबारको साढे ३ अर्ब रुपैयाँको तुलनामा आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ।
कारोबारमा रहेका ३१५ कम्पनीमध्ये १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ। ११ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। दिनभरमा ५० हजार ४४७ पटक शेयर किनबेच भएको छ।
७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेप्सेका १३ मध्ये ८ समूहको सूचक बढेको छ भने ५ समूहको घटेको छ। सबैभन्दा बढी विकास बैंक समूह २.४० प्रतिशतले बढेको छ, जबकि म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले मात्र बढेको छ।
नेप्से बढ्दा सबैभन्दा ठूलो गिरावट ट्रेडिङ समूहमा देखियो, जसको सूचक २.०३ प्रतिशतले घटेको छ। वाणिज्य बैंक समूह भने झिनो ०.१५ प्रतिशतले वृद्धि भएको छ।