चीन–अमेरिका कर युद्ध फेरि चर्कियो

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको दायराबाट बाहिर नरहेको चेतावनी दिएका छन्। विशेषगरी चीनसँगको व्यापार तनावका बीच, ट्रम्प प्रशासनले विश्वव्यापी रूपमा कर नीति कडा पार्दै गएको छ, जसले दुई ठूला अर्थतन्त्रबीचको द्वन्द्व झनै चर्काएको छ।

चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म पुगेको छ भने चीनले पनि जवाफी प्रतिक्रिया स्वरूप अमेरिकी सामानमा १२५ प्रतिशतसम्म कर लगाएको छ। पछिल्लो निर्णयमा, अमेरिकाले स्मार्टफोन, ल्यापटप, सेमीकन्डक्टर लगायतका केही वस्तुमा अस्थायी रूपमा कर छूट दिएको छ। तर राष्ट्रपति ट्रम्पका अनुसार यो छुट स्थायी होइन, र आगामी दिनमा यी वस्तुमा पुनः कर लगाउने तयारी भइरहेको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका छन्, “चीन मात्र होइन, जो जसले अमेरिकासँग अहिलेसम्म सबैभन्दा खराब कर व्यवहार गरेका छन्, सबैजना अब कर वृद्धिको जोखिममा छन्।”

शुक्रबार अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले जारी गरेको सूचनाअनुसार चीनबाट भित्रिने स्मार्टफोन तथा अन्य प्रविधिजन्य वस्तुमा १४५ प्रतिशत कर लगाइएको छ। तर सेमीकन्डक्टरजस्ता वस्तुहरूलाई हालका लागि छुट दिइएको छ, जसबाट एप्पल, एनभिडिया र डेल जस्ता कम्पनीले फाइदा पाउने अनुमान गरिएको छ।

अमेरिकी प्रशासनले यस कदमलाई ‘अल्पकालिक राहत’ भनेको छ। राष्ट्रपति ट्रम्पले सेमीकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति श्रृङ्खला भविष्यमा राष्ट्रिय सुरक्षा सन्दर्भमा करको लक्ष्यमा पर्ने संकेत दिएका छन्।

ट्रम्प प्रशासनले पछिल्लो समय धेरै व्यापारिक साझेदारहरूमाथि कर बढाउँदै आएको छ। यद्यपि, चिनियाँ पक्षसँग कुनै औपचारिक वार्ता योजना छैन। ट्रम्पको आशावाद छ कि चीनसँग सम्झौता हुन सक्छ, तर वासिङ्टनको भनाइ अनुसार यसको पहल बेइजिङले गर्नुपर्नेछ।

प्रतिक्रिया