बाबु विनोदको ‘एउटा गल्ती’ विन्ध्यवासिनी अवार्डको मनोनयनमा

काठमाडौं – विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गत आधुनिक विधामा सर्जक बाबु विनोदको गीत ‘एउटा गल्ती’ उत्कृष्टको सूचीमा परेको छ।

सर्जक बाबु विनोदले आफ्नो सिर्जना मनोनयनमा परेकाेमा खुशी व्यक्त गर्दै आर्थिक सन्देशसँग कुरा गर्दै सर्वोत्कृष्ट अवार्ड जित्नेमा आफू आशावादी रहेको बताए। विदेशमा रहेर नेपाली गीत-संगीतमा लगानी गर्नुका साथै सिर्जना गर्नु कठिन भए पनि यस्ता खबरहरूले थप उत्साह मिल्ने उनले उल्लेख गरे।

विन्ध्यवासिनी फाउन्डेसनका सल्लाहकार गीतकार किरण खरेल, दिनेश अधिकारी, संगीतकार दीपक जंगम र शक्ति बल्लभ सम्मिलित समितिले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपैयाँसहित प्रदान गर्ने सिफारिस गरेको छ।

त्यस्तै, विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका संगीता शाक्यलाई नगद ५० हजार रुपैयाँसहित प्रदान गरिनेछ। गायक प्रेमध्वज प्रधानको नाममा स्थापना गरिएको २५ हजार रुपैयाँसहितको प्रेमध्वज संगीत रत्न सम्मान गायिका निशा देशारलाई प्रदान गरिनेछ।

लोकगायक झलकमान गन्धर्वको नाममा स्थापना गरिएको झलकमान लोक संगीत सम्मान २०८१ गायक शिरिष देवकोटालाई प्रदान गरिने निर्णय भएको छ। यसैगरी, विन्ध्यवासिनी कला पत्रकारिता सम्मान पत्रकार शारदा थापालाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिनेछ।

फाउन्डेसनका सञ्चालक सुवास रेग्मीका अनुसार भेलाले सिफारिस गरिएका सबै नाम अनुमोदन गरेको छ। विन्ध्यवासिनी फाउन्डेसनले हरेक वर्ष अवार्डअघि संगीतकर्मी र पत्रकारहरूको विशेष भेला आयोजना गरी सिफारिस भएका नाम अनुमोदन गर्ने परम्परा कायम राख्दै आएको छ।

यस वर्षको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आगामी चैत २८ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुनेछ।

प्रतिक्रिया