महुली लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

काठमाण्डाै – महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आज (पुस ५ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ। लघुवित्तले आफ्नो जारी पूँजीको ३० प्रतिशत सर्वसाधारण समूहको स्वामित्वमा पुर्याउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम एफपीओ निष्काशन गरेको हो।

लघुवित्तले ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता शेयर निष्काशन गरेको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यसबाट कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

एफपीओको लागि आवेदन अवधि पुस ९ गतेसम्म तोकिएको छ। तर, सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि पुस १९ गतेसम्म लम्बिनेछ।

क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले महुली लघुवित्तलाई "इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस" प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन इच्छुक लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट वा "मेरो शेयर" सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ। एफपीओ निष्काशनपछि चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया