चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा पर्सास्थित वीरगञ्ज नाका हुँदै ५ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यो १२.७५ प्रतिशतले बढी हो, जसअनुसार ५७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु थप रूपमा आयात भएको हो।
उक्त अवधिमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पाँच प्रकारका पेट्रोलियम पदार्थ रहेका छन्, जसको मूल्य १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा ४५ अर्ब ७९ करोड मूल्यको भटमासको कच्चा तेल आयात भएको छ।
त्यसैगरी, २९ अर्ब २ करोडका मेसिनरी तथा तिनका पार्टपुर्जा, २८ अर्ब ५१ करोडका फलाम तथा फलामजन्य सामग्री, र २३ अर्ब ८५ लाख मूल्यका एलोपेथिक औषधी आयात भएका छन्।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवको १० महिनामा आयात मात्र होइन, निर्यातमा समेत उल्लेख्य वृद्धि देखिएको छ। सो अवधिमा ७९ अर्ब ३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामग्री निर्यात भएका छन्, जुन अघिल्लो आवको २५ अर्ब ४८ करोडको तुलनामा २१०.१६ प्रतिशतले वृद्धि भएको हो।
निर्यात हुने वस्तुमध्ये सबैभन्दा बढी प्रशोधित भटमासको तेल रहेको छ। चालु आवको १० महिनामा २१ करोड ९२ लाख लिटरभन्दा बढी भटमासको तेल निर्यात हुँदा यसको मूल्य ४६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यस्तै, ३ करोड ५२ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल ७ अर्ब २७ करोड रुपैयाँमा निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा अत्यधिक वृद्धि हो।