सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब ८ बजे ईश्वरपुर नगरपालिका–१३ स्थित बाके–संग्रामपुर सडकखण्डको ठिल्ला नजिक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा घाइते चार जनालाई उपचारका लागि मोडल अस्पताल पठाइएको थियो। तीमध्ये गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रेफर गरिएको थियो।
प्रहरीका अनुसार हरिपूर्वा नगरपालिका–९ मिर्चैयाका अन्दाजी ३०/३५ वर्षीय मुकेश राय र सोही ठाउँका अन्दाजी ३०/३५ वर्षीय रामज्ञान रायको उपचारका क्रममा मृत्यु भएको हो। हरिपूर्वा–९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय विश्वास राय सामान्य घाइते भएका छन्। उपचारपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा राखी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।