काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरकी रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा गरेका छन् ।प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका स्वर्गीय राधेश्याम जोन्छेकी श्रीमतिलाई प्रदेश सरकारमा मन्त्री बनाउने बताएका छन् ।
नेपाली नेपाली कांग्रेसको समर्थनमा वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका छन् । पाण्डे नेतृत्वको सरकारमा समानुपातिक तर्फबाट प्रदेशसभा सांसद रहेकी रजनी जोन्छेलाई जसरीपनि मन्त्री बनाउने देउवाले बताए ।‘राधेश्याम जोन्छेको श्रीमतलाई मन्त्री बनाउने हो । मैले भनेको छु उहाँ मन्त्री बन्नुहुन्छ ,उहाँ शहीदको पत्नी हो नि’, देउवाले शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा भने ।
जोन्छेको योगदान अतुलनीय रहेको भन्दै कांग्रेसले शहीद परिवारलाई सम्मान गर्ने बताए । भक्तपुर कांग्रेसका पूर्व सभापति जोन्छे देउवाका निकट राजनीतिज्ञ मध्येका हुन् । २०५९ साल भदौ १५ गते जोन्छेलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले गोली प्रहार गरेका थिए । माओवादीको गोली प्रहारबाट गम्भीर घाइते भएका जोन्छेको २०६९ सालमा निधन भएको थियो ।
कांग्रेसले भक्तपुरबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद कृष्णलाल भडेललाई भौतिक पूर्वाधार मन्त्री बनाइसकेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारमा भक्तपुरबाटै दोस्रो मन्त्री बनाउने घोषणा गरेका छन् ।