भावुक भइन् रवि लामिछानेकी पत्नी निकिता, भनिन्–"आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ"

काठमाडौं, जेठ ११ । सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशपछि उनकी पत्नी निकिता लामिछाने भावुक भएकी छन्।

 

शुक्रबार अदालतको आदेशपछि सामाजिक सञ्जालमार्फत आफ्ना अनुभूति सार्वजनिक गर्दै उनले न्यायप्रतिको आस्था र विश्वास गहिरो रूपमा हल्लिएको बताएकी छन्।

 

“गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ,” निकिताले लेखेकी छन्, “थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ।”

 

निकिताले शुक्रबारको पूरै दिन सर्वोच्च अदालतमा बिताएको र आदेश सुनाउने अधिकारी सम्पर्कविहीन भएको बताउँदै अदालत प्रशासनप्रति कडा असन्तुष्टि जनाएकी छन्। उनका अनुसार आदेशको औपचारिक जानकारी अदालतबाट नआइ अनलाइन समाचारमार्फत थाहा पाउनुपरेको थियो।

 

“म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिक रूपमा नसुनाउने? अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार,” निकिताले उल्लेख गरेकी छन्।

 

शुक्रबारको तनाव, अनिन्द्रा र निराशाबीच शनिबार भैरहवा पुगेको उल्लेख गर्दै उनले आफूलाई ‘जिउँदो लाशजस्तो’ महशुस भएको बताएकी छन्।

 

“अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला? सायद जिउँदो लाश भएर हिंडेछु,” उनले लेखेकी छन्।

 

निकिताले रवि लामिछानेविरुद्ध पर्याप्त प्रमाणबिना मुद्दा लगाइएको दाबी गर्दै न्याय खोज्न अब कहाँ जाने भन्ने प्रश्न उठाएकी छन्।

 

सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध परेको सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन आदेश दिएपछि रास्वपा र उनका समर्थकहरू आक्रोशित छन्। निकिताको स्टाटसले अदालतप्रतिको आम जनभावनालाई पनि प्रतिविम्बित गरेको देखिन्छ।

प्रतिक्रिया