जेनजी आन्दोलनका घटनामा १४१ मुद्दा र ३७५ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर हालसम्म १४१ वटा मुद्दा दर्ता भइसकेका छन् भने ३७५ जनालाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले दिएको जानकारीअनुसार, भाद्र २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धान र कारबाहीका क्रममा प्रहरीले कार्तिक १७ गतेसम्म उक्त संख्या पुगेको हो।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९६ मुद्दा दर्ता भई २१८ जना पक्राउ परेका छन्, जुन कुल पक्राउको आधाभन्दा बढी हो। त्यस्तै, बागमती र लुम्बिनी प्रदेशमा ११–११ मुद्दा दर्ता भई क्रमशः ३३ र २९ जना पक्राउ परेका छन्। गण्डकीमा ७ मुद्दामा ३२ जना, मधेशमा ६ मुद्दामा २१ जना र कोशीमा ४ मुद्दामा ३० जना पक्राउ परेका छन्। कर्णाली र सुदूरपश्चिममा भने ३–३ मुद्दा दर्ता भई क्रमशः ४ र ८ जनालाई पक्राउ गरिएको छ।

प्रवक्ता काफ्लेले पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजना जस्ता गम्भीर अभियोगमा मुद्दा चलाइएको जानकारी दिए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय