दुईपांग्रे सवारीसाधनको आयात फेरि बढ्यो

चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा नेपालले सवारीसाधन तथा तिनका पार्ट्स गरी ४७ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात गरेको छ। गत आर्थिक वर्षको यत्तिकै अवधिमा ४१ अर्ब १ करोड रुपैयाँको मात्र आयात भएको थियो। तर उत्तरी नाकाबाट गाडी भित्र्याउन असहज भइरहेकाले यस वर्ष विद्युतीय सवारीसाधनको आयात भने अपेक्षा अनुसार बढ्न सकेको छैन। यो पाँच महिनाको अवधिमा ३ हजार ८ सयवटा विद्युतीय गाडी भित्रिएका छन्, भने गत वर्ष सोही अवधिमा ४ हजार ६९७ वटा गाडी आएको थियो।

उत्तरी नाकाको प्रभाव विद्युतीय निजी कारमा मात्रै होइन, माइक्रोबस आयातमा समेत परेको देखिन्छ। गत वर्ष ८३७ वटा विद्युतीय माइक्रो भित्रिएकोमा यस वर्ष मंसिरसम्म ४५५ वटा मात्र आएका छन्। चीनतर्फका नाकामा अवरोध रहे पनि कुल सवारीसाधन आयात भने अघिल्ला वर्षको तुलनामा बढेको देखिन्छ। दशैंको समयमा केही गाडी कोरला नाका हुँदै ल्याइए पनि अहिले जाडोको कारण नाका बन्द छ। रसुवागढी नाका पनि अझै पूर्ण रूपमा खुलेको छैन भने तातोपानी नाकाबाट सानो मात्रामा गाडी भित्रिरहेका छन्।

नाकामा समस्या आएपछि बीवाईडीलगायत कम्पनीहरूले गाडी बुकिङ त गरेका छन् तर समयमा डेलिभरी दिन सकेका छैनन्। अहिले गाडी बुक गर्नेहरूलाई झण्डै एक महिनापछिको डेलिभरी मिति दिइएको छ। गत वर्ष सवारीसाधन र पार्ट्स आयातको रकम पहिलो पटक १ खर्बभन्दा माथि पुगेको थियो। यस वर्ष साउनदेखि मंसिरको तथ्याङ्क हेर्दा पुनः यही स्तर पुग्ने संकेत देखिन्छ।

विद्युतीय गाडी चलेपछि केही वर्ष यता पेट्रोल र डिजेल गाडीको आयात घट्दै गएको थियो। तर चालु आर्थिक वर्षमा नेपालमै एसेम्बल गरिने गाडी र अन्य पेट्रोल–डिजेल गाडीको आयात फेरि बढेको देखिन्छ। गत वर्ष २ हजार ६९ वटा मात्रै पेट्रोल र डिजेल गाडी आएका थिए भने यस वर्ष पाँच महिनामै ३ हजार १५८ वटा गाडी भित्रिएका छन्। सरकारले यूरो–३ मापदण्डका गाडी मंसिरसम्म ल्याउन अनुमति दिएकाले आयात केही बढेको व्यापारीहरूको दाबी छ।

यस्तै, कोरोना महामारीपछि दुई आर्थिक वर्ष दुईपांग्रे सवारीसाधनको आयात धेरै बढेको थियो तर त्यसपछि घटेको पाइन्थ्यो। अहिले फेरि दुईपांग्रे बजार सामान्य अवस्थामा फर्किन थालेको देखिन्छ। चालु आर्थिक वर्षका पाँच महिनामा १ लाख १४ हजार ६५१ वटा मोटरसाइकल र स्कुटर भित्रिएका छन्, जबकि गत वर्ष सोही अवधिमा ९३ हजार ९५१ वटा मात्र आएका थिए।

प्रतिक्रिया