भुजुङ्ग हाइड्रोपावरले खोल्यो आईपीओ, माघ २६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ — भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ खुला गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको २० करोड रुपैयाँ मूल्यको २० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो । यसमध्ये १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर सुरक्षित गरी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने जनाइएको छ ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरिरहेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि ३० वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ । कम्पनीले २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन सुरु गरिसकेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सबै सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया