काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकले बढेको सेयर बजार बिहीबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घटेर २७४२ बिन्दुमा कायम भएको हो ।
बजार घटेपनि कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार अवधिभर बजार अधिकांश समय रातो अंकमै देखिएको थियो ।
आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । सबैजसो उपसूचकमा गिरावट देखिएको भए पनि कुनै पनि समूहको गिरावट १ प्रतिशतभन्दा माथि पुगेन ।
बैंकिङ समूह ०.५७ प्रतिशत, विकास बैंक ०.३१ प्रतिशत, फाइनान्स ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.८६ प्रतिशत, हाइड्रोपावर ०.६८ प्रतिशत, लगानी ०.३३ प्रतिशत, जीवन बीमा ०.१० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३६ प्रतिशत, माइक्रोफाइनान्स ०.५० प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत तथा अन्य समूह ०.३१ प्रतिशतले घटेका छन् । व्यापार समूह भने स्थिर रहेको छ ।
व्यक्तिगत कम्पनीतर्फ बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाका डिबेन्चरहरू पनि बढी मूल्य बढ्ने सूचीमा परेका छन् । अपर लोहोरेखोलाको सेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घट्दा झापा इनर्जी ८.१२ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ७.४० प्रतिशत र सिटी होटल ३.८० प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स सबैभन्दा अगाडि रहेका छन् ।