सेयर बजारमा इन्ट्राडे र सर्ट सेलिङ सुरु गर्ने तयारी

काठमाडौं, फागुन । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई थप चलायमान र व्यवस्थित बनाउन ‘इन्ट्राडे’ तथा ‘सर्ट सेलिङ’ कारोबार सुरु गर्ने तयारी अघि बढाएको छ। हालै मार्जिन लेन्डिङ निर्देशिका कार्यान्वयनमा आएपछि बोर्डले त्यसलाई प्रभावकारी बनाउन नयाँ प्रकारका कारोबार आवश्यक रहेको निष्कर्ष निकालेको हो। यसका लागि आवश्यक कानुनी, नीतिगत तथा प्राविधिक तयारीबारे अध्ययन गर्न कार्यदलसमेत गठन गरिएको छ।

सर्ट सेलिङ यस्तो रणनीति हो जसमा लगानीकर्ताले आफूसँग सेयर नभए पनि सापटी लिएर बिक्री गर्छन् र मूल्य घटेपछि किनेर सापटी फिर्ता गरी मूल्य अन्तरबाट नाफा लिन्छन्। हाल नेपालमा यस्तो संयन्त्र स्थापित छैन। बोर्डका अनुसार इन्ट्राडे कारोबार लागू भएमा एउटै दिन सेयर किनबेच गर्न सकिनेछ, जसले बजार घट्दो अवस्थामा समेत कारोबार सक्रिय राख्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। यसले टी+२ राफसाफ प्रणालीमा समेत सुधार ल्याउने विश्वास गरिएको छ।

कार्यदलले सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ, अक्सन मार्केट, सर्ट सेलिङ र इन्ट्राडे कारोबारका लागि आवश्यक संरचना र कानुनी आधारको अध्ययन गर्नेछ। डिम्याट खातामा रहेको सेयर निश्चित शुल्कमा अरूलाई सापटी दिन–लिन सकिने व्यवस्था प्रभावकारी बनेमा बजारमा तरलता र विविधता बढ्ने बोर्डको ठहर छ। विगतमा नीतिगत प्रावधान भए पनि सर्ट सेलिङ र इन्ट्राडे अभ्यास नहुँदा मार्जिन कारोबार प्रभावकारी बन्न नसकेको निष्कर्ष निकालिएको छ। अब विस्तृत अध्ययनपछि आवश्यक निर्देशिका वा कानुनी संशोधनमार्फत नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी बोर्डले जनाएको छ।

प्रतिक्रिया