अमेरिका-युक्रेन वार्ता: ३० दिने युद्धविराम र सैन्य सहयोग सम्झौतामा सहमति

साउदी अरेबियाको जेद्दामा भएको वार्तामा युक्रेनले ३० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको छ। मंगलबार अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको बैठकपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उक्त सहमति भएको पुष्टि गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले युद्धविरामलाई सकारात्मक कदम भन्दै भने, "युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ। अब यसलाई कार्यान्वयन गर्न रुसलाई मनाउनु अमेरिकाको जिम्मेवारी हो।"

जेद्दामा सम्पन्न वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनी पक्षसँग विभिन्न सम्झौताका विषयमा छलफल गरेका थिए। युक्रेनले युद्धविराम स्वीकार गरे पनि रुसद्वारा कब्जा गरिएका क्षेत्रहरूबारे भने कुनै सम्झौताको लागि तयार नभएको बताइएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका चार ठूला क्षेत्रहरू— डोनेट्स्क, लुहान्स्क, खेरसन, र जापोरिजिया— मा पूर्ण नियन्त्रण खोजिरहेका छन्। हालसम्म रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ।

सम्झौताअनुसार युद्धविराम हवाई, स्थलीय तथा समुद्री सबै क्षेत्रमा लागू हुनेछ। साथै, अमेरिकाले युक्रेनलाई सैन्य सहायता तथा गुप्तचर जानकारी प्रदान गर्ने सहमति पनि भएको छ। यसअघि अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोक्ने निर्णय गरेको थियो।

त्यस्तै, दुर्लभ खनिज सम्झौतासम्बन्धी प्रक्रिया सकेसम्म चाँडो टुंग्याउने विषयमा पनि अमेरिका र युक्रेनबीच सहमति भएको छ। अब अमेरिकाले रुसलाई युद्धविराम स्वीकार गर्न राजी गराउने प्रयास गर्ने बताइएको छ।

प्रतिक्रिया