देवानगञ्जमा सुरक्षा व्यवस्था थप कडा, नेपाली सेनाद्वारा हवाई गस्ती

 

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।

स्थानीय प्रशासनका अनुसार प्रभावित क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। सुरक्षा निकायले शान्ति–सुरक्षा कायम गर्न संवेदनशील क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।

यसैबीच, घटनाको सत्यतथ्य छानबिनका लागि सरकारले गठन गरेको पाँच सदस्यीय छानबिन समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गरेका छन्। टोलीले झडपका क्रममा ज्यान गुमाएका २४ वर्षीय ओमप्रकाश मेहताका परिवारसँग भेट गरी घटनाबारे जानकारी लिएको छ।

सरकारले घटनाको निष्पक्ष छानबिन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन समितिलाई निर्देशन दिएको छ। समितिले घटनाका कारण, सुरक्षा व्यवस्थाको अवस्था तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे अध्ययन गर्ने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय