काठमाडौँ — जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीलाई नाफामा देखाएर आईपीओ ल्याउने गरेको आरोप लगाएका छन् ।
धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीलाई नाफामा देखाएर आईपीओ जारी गरिन्छ : सांसद यादव
अडिटरमार्फत नाफा देखाई बोर्डमा निवेदन दिने र बोर्डले पनि जाँच नगरी जस्तोसुकै कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिइरहेको उनको दाबी छ ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा यादवले भने, ‘अडिटरमार्फत मुनाफा देखाई धितोपत्र बोर्डमा निवेदन दिन्छन् । धितोपत्र बोर्डले जाँच नगरी जस्तोसुकै कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिन्छ । उदाहरणका रूपमा घोराही सिमेन्ट, सोनापुर मिलरल्स एन्ड आयल कम्पनी, नेपाल वेयर हाउस कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी आइपिओ निष्कासनअघि ग्रिन जोनमा थिए । तर, आईपीओ निष्कानपछि रेडजोनमा गए । किनकि आईपीओ निष्कासनअघि लगानीकर्तालाई आकर्षित गर्न वित्तीय विवरण नै म्यानुप्युलेट गरिएको हुन्छ ।’
यस्ता कम्पनीले वित्तीय विवरण ‘म्यानुप्युलेट’ गरी रिजर्भमा रहेको रकमसमेत नाफामा देखाउने गरेको प्रमुख सचेतक यादवको दाबी छ । कम्पनीमा लगानीको जोखिम मूल्यांकन गर्ने केयर रेटिङ नेपाल र इक्रा नेपाल एजेन्सीको समेत बोर्डले नियमन नगरेको भन्दै यादवले असन्तुष्टि जनाए ।
नेपाली सेयर बजारमा गम्भीर अपराधहरू भइरहे पनि नियामक निकाय धितोपत्र बोर्ड नै मुख्य मतियार बनेर सीमित व्यापारीलाई पोस्न उद्दत रहेको यादवको भनाइ छ । आजको कान्तिपुर दैनिकबाट