अर्थतन्त्र सुधारको लागि प्रधानमन्त्रीको पहल,अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएको समस्या र चुनौतीका विषयमा चासो राखेका छन् । यस्तै, ब्याजदर घटाउन र तरलताको समस्याबारेमा मौद्रिक नीतिमा सुधारलगायत अन्य कदममा जोड दिन पनि प्रचण्डले आग्रह गरेका थिए ।  

प्रधानमन्त्रीले छलफलका क्रममा देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने दायित्व सरकारको रहेकोले त्यसको उपायको खोजी गर्न पनि अर्थमन्त्री र गर्भनर समक्ष आग्रह गरेका थिए । यसअघि अर्थतन्त्र समस्यामा परेको भए पनि सम्बद्ध निकायहरुबीच आपसी तालमेल हुन नसक्दा समग्र निजी क्षेत्रसहित सेयर बजारका लगानीकर्ता निराश बनेका थिए ।

विशेषगरी अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब बढी परेको थियो । तर पछिल्ला महिनाहरुमा बाह्य क्षेत्रमा देखिएको चापमा सुधार हुँदै आएको छ । रेमिटेन्स बढिरहेको छ । यता, बैंकमा निक्षेप पनि वृद्धि हुँदै गएको छ । यस्तो अवस्थामा अब ब्याजदर घटाउनुपर्ने माग हुन थालेको छ । माघबाट ब्याजदर घट्न थाल्यो भने यसले समग्र अर्थतन्त्रसहित पुँजी बजारलाई निकै फाइदा पुग्नेछ । ब्याजदर घट्दा उत्पादन लागत घटाउन सहयोग पुग्नेछ । निक्षेपको ब्याजदर घटेपछि कर्जाको ब्याजदर पनि स्वतः सस्तो हुँदै जानेछ   

यता, गभर्नर, अर्थमन्त्री तथा प्रधानमन्त्रीबीच समन्वय भइरहेको र उनीहरुले अर्थतन्त्र सुधार्न विशेष पहल गर्ने आश्वासन दिएपछि निजी क्षेत्रसहित सेयर बजारका लगानीकर्ताको आत्मविश्वास वृद्धि हुन थालेको छ । यही कारण पछिल्ला दिनहरुमा सेयर बजारमा पनि सुधार हुन थालेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा निर्देशिका रिसेड्यूल गर्ने आश्वासन दिएको छ । यता, अर्थमन्त्रीले पनि पुँजी बजार सुधारका लागि काम गर्ने बताएका छन् । 

प्रतिक्रिया