काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा दशौं हजारभन्दा बढी गीतहरूमा संगीत संयोजन गरिसकेका एक चर्चित व्यक्तित्व हुन् विनोद बाजुराली। उनी कुशल संगीत संयोजक मात्र नभई असल गायक र सर्जक समेत हुन्।
बाजुराली बेला बेलामा आफ्नै आवाज र सिर्जनामा गीतहरू सार्वजनिक गर्ने गर्छन्। उनका गीतहरूले मौलिकता र आफ्नोपन बोकेका हुन्छन्। कतिपयलाई त उनले गीतमा आवाज दिएको समेत थाहा नहुन सक्छ, तर उनका गीतहरू कतै सुनेको अनुभूति भने हुन सक्छ, जसलाई हामीले त्यति धेरै ध्यान नदिएका मात्र हुन सक्छौं।
हालै मात्र बाजुरालीको शब्द, संगीत, र आवाज रहेको नयाँ गीत हियारै सार्वजनिक भएको छ। यस गीतमा उनलाई चर्चित गायिका शान्ति श्री परियारले साथ दिएकी छन्।
गीतको म्युजिक भिडियो पनि उत्कृष्ट रूपमा तयार गरिएको छ, जसको निर्देशन मौसम हिमालीले गरेका छन्। भिडियोमा देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनय रहेको छ। गीतको अडियो र भिडियो दुवै उत्कृष्ट रहेको बताइएको छ। यस गीतलाई शुभारम्भ डिजिटलले बजार व्यवस्थापन गरेकोछ।