काठमाडौं – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यो अवधिमा वैदेशिक व्यापारमा गत वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले कमी आएको हो।
तथ्यांकअनुसार, आयातमा ४.१७ प्रतिशतले र निर्यातमा ६.११ प्रतिशतले गिरावट आएको छ। नेपालले तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ।
आयातमा सबैभन्दा धेरै डिजेल (२२ अर्ब १५ करोड), पेट्रोल (१६ अर्ब ६२ करोड) र खाना पकाउने एलपी ग्यास (१४ अर्ब ६ करोड) रहेका छन्। यस्तै, मोबाइल (९ अर्ब ८३ करोड) र युरिया मल (७ अर्ब ९३ करोड) पनि प्रमुख आयात वस्तुहरूमा पर्दछन्।
नेपालले सबैभन्दा धेरै सामग्री भारतबाट आयात गरेको छ, जुन २ खर्ब ४० अर्ब ९२ करोड रुपैयाँ बराबरको रहेको छ। चीनबाट ७८ अर्ब ६३ करोड बराबरको सामग्री आयात भएको छ। समीक्षा अवधिमा युक्रेनबाट ६ अर्ब ५१ करोड बराबरको आयात भएको देखिन्छ।