काठमाडौं। भारतले नेपाललाई थप ४ घण्टा विद्युत् आपूर्ति गर्ने सहमति दिएको छ। इण्डियन इनर्जी एक्सचेञ्ज (IEX) बाट ६०० मेगावाट विद्युत् उपलब्ध गराउने भारतको निर्णयसँगै नेपालमा लोडसेडिङको खतरा टरेको छ।
थप विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपाल भित्र्याइनेछ। हाल भारतले जुन ३० सम्मका लागि सोलार आवरमा १,००४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो। ऊर्जामन्त्री शक्ति बस्नेतको अनुरोध र परराष्ट्रमन्त्री एनपी साउदको कूटनीतिक पहलपछि भारतले थप आपूर्तिको सहमति जनाएको हो।
ऊर्जामन्त्री बस्नेतले सुख्खा याममा नेपालमा देखिने विद्युत् अभाव न्यूनीकरण गर्न भारत सरकारसँग गरिएको अनुरोध सफल भएको बताएका छन्। उनले सरकार नेपाली जनतालाई २४सै घण्टा विद्युत् आपूर्ति गर्न प्रतिबद्ध रहेको भन्दै लोडसेडिङ हुने हल्लामा नफस्न आग्रह गरे।
नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्र देव शाक्य कार्यकारी निर्देशकका रूपमा नियुक्त भएपछि लोडसेडिङ हुन सक्ने चर्चा चलेको थियो। तर, भारतले हाल आपूर्ति गरिरहेको विद्युत्का अतिरिक्त ६०० मेगावाट थप्ने सहमति दिएपछि लोडसेडिङको सम्भावना कम भएको छ।