काठमाडौं। विश्व अर्थतन्त्रका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबीच राजनीतिक मतभेद कायम रहे पनि आर्थिक, प्रविधि तथा विद्युतीय सवारी उत्पादन क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढ्दो छ। चीन साम्यवादी शासकीय प्रणालीमा चलेको राष्ट्र हो भने अमेरिका प्रजातन्त्र र कानुनी शासनको उदाहरणीय प्रणालीका कारण पहिचान बनाएको देश हो। पछिल्ला वर्षहरूमा ‘ट्यारिफ वार’ हुँदै आएको भए पनि अहिले भने प्रतिस्पर्धा मुख्यत: विद्युतीय सवारी (ईभी) बजारमा केन्द्रित भएको देखिन्छ।
सन् २०२५ मा चिनियाँ विद्युतीय सवारीको बाजार विश्वभर विस्तार भएको तथ्यांक सार्वजनिक भएका छन्। अमेरिकी ईभी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब ८.६ प्रतिशतले घटेको जनाएको छ। यससँगै चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले वार्षिक बिक्रीका आधारमा पहिलो पटक टेस्लालाई उछिनेको छ।
प्रकाशित तथ्यांक अनुसार टेस्लाले सन् २०२५ मा करिब १६ लाख ५५ हजार ईभी उत्पादन गरेको थियो भने १६ लाख ३६ हजार सवारी डेलिभर गरेको थियो। तर सन् २०२४ मा भने टेस्लाले १७ लाख ७३ हजार सवारी उत्पादन र १७ लाख ८९ हजार सवारी डेलिभर गरेको थियो। यसरी हेर्दा टेस्लाको उत्पादन र बिक्री दुबै घटेको देखिन्छ।
अमेरिकामा ईभी खरिदकर्तालाई दिइँदै आएको कर छुट सन् २०२५ को सेप्टेम्बरदेखि हटाइएपछि टेस्ला बिक्रीमा वृद्धि हुनुको सट्टा नकारात्मक असर परेको कम्पनीले जनाएको छ। सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले ४ लाख ३४ हजार सवारी उत्पादन र ४ लाख १८ हजारभन्दा बढी सवारी डेलिभर गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले कम हो।
उता चिनियाँ कम्पनी बीवाईडीले भने सन् २०२५ मा करिब २२ लाख ५७ हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा २७.६ प्रतिशतले बढी हो। बीवाईडीको बिक्री चीनभित्र मात्र नभई एसिया, युरोप र ल्याटिन अमेरिकी बजारमा समेत तीव्र गतिमा बढिरहेको बताइएको छ।
यद्यपि टेस्ला अझै पनि अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी रहँदै आएको छ र अमेरिकी ईभी बजारको करिब ४५ प्रतिशत हिस्सा टेस्लाकै कब्जामा छ। तर, पछिल्लो समय बिक्री घट्दै जानुले अमेरिकी ईभी बजार समग्र रूपमा सुस्त हुँदै गएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बर महिनामा मात्रै अमेरिकामा सबै ब्रान्डका ईभी बिक्री अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढीले घटेका थिए। उद्योग विश्लेषकले सन् २०२६ मा समेत अमेरिकी ईभी बजार कमजोर रहने अनुमान गरेका छन्।