नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार ४ अर्ब रुपैयाँमा सीमित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि घटेर बन्द भएको छ। लगातार तेस्रो कारोबार दिन ओरालो लागेको बजारमा नेप्से ७.७९ अंकले घटेर २,६८८.८८ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंकले घटेका छन्। बजारसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३४३ कम्पनीका ९७ लाख ७७ हजार कित्ता सेयर ४८ हजार पटकको कारोबारमार्फत चार अर्ब २ करोड ९४ लाख रुपैयाँमा खरिद–बिक्री भएका छन्।

एभरेष्ट कलरको सेयर मूल्य भने लगातार आठौँ कारोबार दिन पनि सकारात्मक सर्किटमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य १२९ रुपैयाँ १० पैसाले बढेर प्रतिकित्ता ९९० रुपैयाँ १० पैसामा पुगेको छ। त्यस्तै, कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य करिब १२.५ प्रतिशतले बढ्दा अन्य कम्पनीहरूको वृद्धि पाँच प्रतिशतभन्दा कममा सीमित रहेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा रहेको छ। यस कम्पनीको २२ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। खानी खोला हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढी तथा रिलायन्स स्पिनिङ मिल्सको करिब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये म्युचुअल फन्ड र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने बाँकी ११ उपसमूहका परिसूचक घटेका छन्। यसले समग्र बजारमा बिक्री दबाब अझै कायम रहेको संकेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय