काठमाडौं । जापानमा रहेर नेपाली गीत–संगीतलाई निरन्तरता दिइरहेका लोकप्रिय सर्जक रामकृष्ण बम मल्लको मौलिक तीज गीत ‘तीन बहिनी’ सार्वजनिक भएको छ।
मौलिक शब्द र लयमा तयार गरिएको गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्दै गएको छ। गीतमा जापानमा पहिलो पटक आयोजना भएको ‘जापान लोक तारा’ प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गरेका गायिकाहरूको समेत स्वर रहेको छ।
गीतमा रामकृष्ण बम मल्ल, तनुजा शाही, आरती परियार र पार्वती आचार्यले आवाज दिएका छन्। गीतका शब्द रमेश बीजीले सिर्जना गरेका हुन् भने लय सिर्जना रामकृष्ण बम मल्लकै रहेको छ।
गीतलाई व्यावसायिकभन्दा पनि मौलिक तीज गीतको संरक्षण तथा नयाँ पुस्ताका गायिकालाई प्रोत्साहन गर्ने उद्देश्यले सार्वजनिक गरिएको सर्जक मल्लले बताएका छन्।
‘तीन बहिनी छोरी’को निर्देशन विष्णु शर्माले गरेका छन्। गीतको भिडियोमा रश्मि भट्ट, सुमन परियार, मेलिना ठकुरी, आरोन मल्ल, कृतन सुवेदी र यसु भट्टराईको अभिनय रहेको छ।
मौलिक तीज गीतको संरक्षणसँगै नयाँ कलाकारलाई अवसर र प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको यो गीतले पछिल्लो समय दर्शक तथा स्रोताको ध्यान आकर्षित गरिरहेको छ।