मोरङमा प्रेमी-प्रेमिकाको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला

मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा एउटै डोरीको पासो लागेको अवस्थामा एक पुरुष र एक महिलाको शव फेला परेको छ। पिठारीको रुखको हाँगोमा झुन्डिएको अवस्थामा सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाका अनुसार मृतक दुवै विवाहित रहेका छन्। जुबामुनीका पति वैदेशिक रोजगारीका लागि विदेशमा छन् भने उनको एक वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ। अजयका पनि दुई छोराछोरी रहेको खुलेको छ।

प्रहरीका अनुसार आइतबार राति अजयले जुबामुनीलाई आफ्नै घरमा लगेका थिए। भोलिपल्ट उनीहरू घरबाट निस्किएका थिए र मंगलबार बिहान रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानका आधारमा प्रेम सम्बन्धकै कारण समस्या उत्पन्न भएपछि उनीहरूले सल्लाह गरेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया