शेयर बजारमा लगानीकर्ता ह्वात्तै बढे, एक वर्षमा कति थपिए ?


काठमाडौँ—कोभिड–१९को कारण अर्थतन्त्रका अन्य सबै क्षेत्रमा असर पुग्यो । तर, शेयर बजार भने चम्किएको छ । शेयर बजारमा ठूला लगानीकर्ता मात्र होइन साना  लगानीकर्ता पनि ह्वात्तै बढेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका छन्  । सेयर कारोबार मापक नेप्से निरन्तर वृद्धि भएसँगै बजारमा भित्रिने लगानीकर्ता पनि उल्लेख्य बढेका हुन् ।


गत शुक्रबारसम्म ४० लाख ८७ हजार लगानीले डिम्याट (सेयर अभौतिकीकरण) खाता खोलेका छन् । २०७७ असारको तुलनामा गत शुक्रबारसम्म सेयर बजारमा थप २३ लाख ६३ हजार नयाँ लगानीकर्ता भित्रिएका छन् । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय थियो । २०७७ असारदेखि २०७८ असारसम्म तुलना गर्दा भने बजारमा २० लाख १३ हजार नयाँ लगानीकर्ता थपिएको देखिन्छ । यो सेयर बजारको कुल लगानीकर्ता संख्या हो । हाल सेयर (प्राथमिक र द्वितीय) मा लगानी गर्न डिम्याट खाता अनिवार्य हुनुपर्छ । गएको १३ महिनामा नेप्से परिसूचक करिब १ सय ३३ प्रतिशत बढेको छ । अघिल्लो असारमा १ हजार ३ सय ६२ बिन्दुमा रहेको नेप्से गत शुक्रबारसम्म ३ हजार १ सय ८० बिन्दुमा पुगेको छ । अघिल्लो असारदेखि गत असारसम्मको तुलना गर्दा पनि नेप्से परिसूचक करिब १ सय ११ प्रतिशत बढेको देखिन्छ । सेयर बजार बढिरहेकै कारण गत आर्थिक वर्षमा सेयर बजारमा भित्रिने लगानीकर्ता संख्या उल्लेख्य रहेको जानकारहरू बताउँछन् ।


निधेषाज्ञाका कारण गत आर्थिक वर्षमा अर्थतन्त्रका धेरै क्षेत्र ठप्प रहे । नागरिकहरू घरमै बस्नुपर्ने अवस्था आयो । सो समयमा सेयर बजार भने सञ्चालन भइरह्यो । कार्यालय जानु नपर्ने, लगानीकर्ताले आफू रहेकै स्थानबाट अनलाइनमार्फत कारोबार गर्न सक्नेलगायत कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । ‘कार्यालय, कर्मचारी केही नचाहिने, आफू रहेकै स्थानबाट आफैं सेयर किनबेच गर्न सकिने, कारोबार कसैलाई सार्वजनिक गर्नु नपर्नेलगायत सुविधा पुँजी बजारमा छन्,’ उनले भनिन्, ‘त्यसैले सेयर बजार लगानीकर्ताका लागि आकर्षित बन्यो ।’ गत असारसम्म दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ८ लाख ७७ हजार पुगेको नेप्सेको तथ्यांक छ । २०७७ असारमा यस्तो संख्या २ लाख ४५ हजार थियो । अनलाइन कारोबारका लागि ‘लगइन’ लिने लगानीकर्ता पनि करिब ७ लाख ९२ हजार पुगिसकेका छन् । २०७७ असारमा यस्तो संख्या ३५ हजार १ सय थियो ।
दोस्रो बजारमा महिला सेयर लगानीकर्ताको संख्या ३ लाख नाघेको छ । यो गत असारसम्मको नेपाल स्टक एक्सचेन्जमा सेयर किनबेच गरेका महिला लगानीकर्ताको संख्या हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष सेयरको दोस्रो बजारमा थप २ लाख ३५ हजार महिला सेयर लगानीकर्ता थपिएका छन् ।
 

प्रतिक्रिया