काठमाण्डौ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ । साथै कारोबार रकम पनि घटेर ५ अर्बमा आएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएपछि सोमबार शेयर बजारमा उल्लेखनीय गिरावट देखिएको छ। अधिकारीको ५ वर्षीय कार्यकाल सकिएर घर फर्किएको भोलिपल्ट नै बजारमा नेगेटिभ प्रभाव देखिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४५ अंकले घट्दै २६७०.९४ विन्दुमा झरेको छ, जसले बजार सूचक १.२० प्रतिशतले तल झरेको संकेत गर्छ।
गभर्नर नियुक्तिको विषयमा अनिश्चितता कायम रहँदा लगानीकर्तामा उत्साह कम देखिएको छ। आजको कारोबारमा कूल ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड १४ हजार कित्ता शेयर किनबेच भएको छ। कारोबार संख्या ५५ हजार नाघ्दा ३२२ वटा कम्पनीको सेयर किनबेच भएको छ।
आज २३ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिए पनि २२१ कम्पनीको मूल्यमा गिरावट आएको छ। कुनै पनि कम्पनीको मूल्य स्थिर भने देखिएन।
१३ वटा सूचक समूहमध्ये सबै समूह राताम्य भए। सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा ३.३० प्रतिशतको दरले देखियो, जुन ४६३७.९३ विन्दुमा झर्यो। म्युचुअल फण्ड समूहमा सबैभन्दा कम गिरावट ०.०७ प्रतिशत मात्र देखियो, जुन १९.१९ विन्दुमा पुग्यो।