निक्षेप बढ्यो, कर्जा माग घट्यो: बैंकिङ क्षेत्रमा चुनौती

काठमाडौं । आर्थिक गतिविधि सुस्त रहँदा देशभर बैंक तथा वित्तीय संस्थामा कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेको देखिएको छ। चालु आर्थिक वर्षको सुरुदेखि नै कर्जा विस्तारले गति लिन नसकेको अवस्था अहिले पनि कायमै रहेको बैंकरहरू बताउँछन्।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार तेस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरूको ध्यान कर्जा असुलीमा केन्द्रित भएको छ। उनले निक्षेप बढ्दै गए पनि कर्जा माग भने अपेक्षित रूपमा नबढेको बताए।

इजरायल–इरान युद्धको प्रभाव नेपाली बजारमा देखिन थाले पनि बैंकिङ प्रणालीमा भने तत्काल असर नदेखिएको उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो। यस अवधिसम्म कुल निक्षेप ७६ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।

यसै अवधिमा २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत वृद्धि हो। कुल कर्जा ५७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको भए पनि लक्ष्य पूरा हुने सम्भावना कम देखिएको छ।

राष्ट्र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पछिल्ला दिनमा कर्जा माग बढ्ने संकेत देखिन थालेको बताए। उनका अनुसार आगामी महिनामा कर्जा विस्तारको गति केही बढ्न सक्ने अनुमान गरिएको छ।

हाल बैंकहरूको कर्जा प्रवाहमा घरजग्गा धितोको हिस्सा बढी देखिएको छ भने कृषि तथा अन्य चालु सम्पत्तिमा आधारित कर्जाको हिस्सा तुलनात्मक रूपमा कम रहेको छ।

अर्थतन्त्र सुस्त रहँदा कर्जा मागमा आएको कमीले बैंकिङ क्षेत्रलाई चुनौती थपेको छ। विज्ञहरूका अनुसार आर्थिक गतिविधि चलायमान नभएसम्म कर्जा विस्तारमा उल्लेख्य सुधार आउन कठिन हुने देखिन्छ। today Kantipur daily

प्रतिक्रिया