बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन उल्लेख्य अंकले घटेको नेप्से परिसूचक यस दिन ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा बन्द भएको छ। बजार सामान्य रूपमा उक्लिए पनि सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०२ अंकले वृद्धि भएको छ। नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३३४ कम्पनीका २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर १ लाख २१ हजारभन्दा बढी पटक कारोबार हुँदा कुल कारोबार रकम ११ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ। घट्ने पक्षमा १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ रहेको छ, जसको मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि राधी विद्युत कम्पनीको कारोबार ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन्। वित्त उपसमूह सबैभन्दा धेरै १.२४ प्रतिशतले उक्लिएको छ। बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहका परिसूचक भने सामान्य रूपमा घटेका छन्।