काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरस्थित निजी निवासबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा रिजाललाई पक्राउ गरिएको हो। उक्त आन्दोलन गत भदौ २३ र २४ गते भएको थियो, जसबेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।
आयोगले सो घटनामा संलग्नता देखिएको भन्दै रिजालमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्ने क्रममा प्रहरीले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिसकेको छ।