कोरिया जाने प्रतिक्षामा रहेका नेपालीका लागि खुसीको खबर

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा मंगलवार कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र शीप परीक्षा उत्तीर्ण गरी कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका हुन् ।

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षलाई आग्रह गरे । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् ।

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्ररूपमा फैलिरहेको बताएका थिए । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीले समस्या भएको उनको भनाइ छ ।

विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए । यसअघि कोरोना संक्रमणका कारण माघ दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करीब ७ हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९८४ जना गइसकेका छन् । आर्थिक अभियान दैनिकबाट

 

प्रतिक्रिया