काठमाडौं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको तामाकोशी नदीमा खस्दा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भएको आशंका गरिएको छ भने घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।
घटनास्थलमा रहेका अनेरास्ववियु रामेछापका संयोजक गोपाल थोकरका अनुसार केही शवहरू नदीको बहावमा तैरिँदै गएको देखिएको छ। उनका अनुसार दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मी तत्काल उद्धार कार्यमा जुटेका छन् र घाइतेहरूको खोजी तथा उद्धार जारी छ।
दुर्घटना रामेछापको मन्थली नगरपालिका–६ क्षेत्रमा भएको हो। बसको नम्बर, यात्रुको संख्या र दुर्घटनाको कारणबारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपीका अनुसार नदीको बहाव तीव्र रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ र थप विवरण संकलन गर्ने काम भइरहेको छ।