काठमाडौं — रामबहादुर थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयमा नेपाली सेनासहित विभिन्न ‘दृश्य’ र ‘अदृश्य’ शक्तिहरूको भूमिका रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेतासमेत रहेका थापाले सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग तथा विभिन्न संस्थागत र गैरसंस्थागत पात्रहरूको संलग्नता रहेको दाबी गरे। उनले रास्वपाको विजयलाई ‘जादूमय’ संज्ञा दिँदै त्यसको पछाडि असंख्य तथ्यहरू रहेको उल्लेख गरे।
उनका अनुसार टीओबी, एआई र एल्गोरिदमजस्ता अदृश्य माध्यममार्फत राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका पक्षधर नेताहरूलाई खलनायकका रूपमा चित्रण गरिएको र ‘देश जलाउने तथा राष्ट्रिय पहिचान मेटाउने’ पात्रहरूलाई महानायक बनाइएको आरोप लगाए।
थापाले पछिल्ला घटनाक्रमप्रति प्रश्न उठाउँदै सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी र पार्टी कार्यालयहरूमा भएको आगजनी सुनियोजित रहेको दाबी गरे। साथै, निषेधित क्षेत्र तोड्न विद्यार्थीहरूलाई उक्साइएको र भदौ २३–२४ मा ‘हतियारबद्ध टीओबी’ हरू अचानक सक्रिय भएको पनि उनले बताए।
यसै क्रममा उनले केपी शर्मा ओली र रमेश लेखक लाई गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप समेत लगाए।