काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रलाई राजनीतिक दलहरूको घोषणापत्रमा उच्च प्राथमिकतासाथ समावेश गर्न माग गरेको छ। इप्पानले शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजनीतिक दललाई पत्र पठाउँदै ऊर्जा विकासमा निजी क्षेत्रका मुद्दालाई स्पष्ट रूपमा समेट्न आग्रह गरेको हो।
इप्पानका अनुसार मुलुकको आर्थिक समृद्धि र विकासको प्रमुख आधार ऊर्जा क्षेत्र बनेको अवस्थामा निजी क्षेत्रको भूमिका निर्णायक रहेको छ। संस्थाले ऊर्जा सुरक्षामा नेपाललाई सक्षम बनाउने, शतप्रतिशत स्वच्छ तथा हरित ऊर्जा उपयोग गर्ने देशको रूपमा अघि बढाउने तथा नेपाललाई ऊर्जामैत्री राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ। साथै विद्युत ऐन, २०४९ संशोधन गरी बहुविक्रेता र बहुक्रेता प्रणालीमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै निजी क्षेत्रलाई विद्युत व्यापार, प्रसारण र वितरणमा सहभागी गराउनुपर्ने उल्लेख गरिएको छ।
इप्पान अध्यक्ष गणेश कार्कीका अनुसार निजी क्षेत्रले हालसम्म ३३ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गरिसकेको छ भने ५७ सय मेगावाट बराबरका आयोजना निर्माणाधीन अवस्थामा छन्। साथै ९५८ आयोजनाबाट ३६ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने तयारी भइरहेको र यस क्षेत्रमा करिब १३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। तर पछिल्लो समय नीति, कानुन र प्रक्रिया सम्बन्धी चुनौती बढ्दै गएको भन्दै घोषणापत्रमै स्पष्ट प्रतिबद्धता आवश्यक रहेको इप्पानको धारणा छ।
संस्थाले राष्ट्रिय योजना आयोगको १६ औँ पञ्चवर्षीय योजना, ऊर्जा विकास मार्गचित्र–२०८१ र तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) मा तय गरिएका विद्युत उत्पादन लक्ष्य हासिल गर्न निजी तथा विदेशी लगानी आकर्षित हुने नीति आवश्यक रहेको उल्लेख गरेको छ। त्यसका लागि विद्युत खरिद सम्झौता खुला गर्ने, ऊर्जा क्षेत्रमा स्थिर नीति अवलम्बन गर्ने र सार्वजनिक–निजी साझेदारीमा ठूला आयोजना अघि बढाउनुपर्ने माग इप्पानले गरेको छ।