गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये १८ करोड ४५ लाख रुपैयाँ बराबरका १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ।
त्यसैगरी, ६७ हजार ५०० कित्ता शेयर कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर म्युचुअल फण्डका लागि छुट्याइएको छ। साथै, २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयहरू वा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई ‘केयर एनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
नोट: आवेदन दिन इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र आवेदन दिन नबिर्सनुहोला।