इष्टर्न साहारा कम्पनीद्वारा ३० करोडको आइपीओ निष्कासन गर्ने

काठमाडौं: इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ३० करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँको दरमा ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।

सर्वसाधारणलाई निष्कासन गरिने साधारण सेयरको क्रेडिट रेटिङ्गका लागि कम्पनीले कियर रेटिङ्ग नेपालसँग द्विपक्षीय सम्झौता गरेको छ।

२०७९ सालमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको इष्टर्न साहारा कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा अवस्थित छ।

कम्पनीले साना–साना पुँजीलाई एकीकृत गरी मुख्यत: ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्ने र कार्बन उत्सर्जन कम गर्ने परियोजनामा लगानी गर्ने लक्ष्य राखेको छ। हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोबाइल्स, र सौर्य ऊर्जा क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरिरहेको छ।

यो कम्पनी बैंकिङ, सहकारी, लघुवित्त, र हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू, प्रतिष्ठित व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट, र अन्य पेशेवरहरूद्वारा स्थापित र सञ्चालित छ।

कम्पनीले पुँजी विस्तार र विविधिकरण गरी ग्रीन फाइनान्सिङमा योगदान पुर्याउँदै देशको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया