तीन सुपर ओभरपछि नेपाल नेदरल्याण्ड्ससँग पराजित

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ। निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि लगातार दुई सुपर ओभर पनि बराबर भएपछि तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्स विजयी बनेको हो।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो, जुन जवाफमा नेदरल्याण्ड्सले पनि बराबर १९ रन नै बनायो। दोस्रो सुपर ओभरमा नेदरल्याण्ड्सले १७ रन बनायो भने नेपालले पनि सोही स्कोर बराबरी गर्‍यो। तर तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन। कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए भने रुपेश सिंह पनि चौथो बलमा आउट हुँदा स्कोर शून्यमै रोकियो। नेदरल्याण्ड्सले मात्र १ रनको लक्ष्य पहिलो बलमै छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ७ विकेटको क्षतिमा १५२ रन बनाउँदै नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले पनि २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो र खेल बराबरीमा पुग्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ४८ रन बनाएका थिए भने कुशल भुर्तेलले ३४ रनको योगदान दिए। अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा सन्दीप लामिछाने र नन्दन यादवले प्रयास गरे पनि १५ रनमै रोकिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे।

नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले ३५ रन बनाएका थिए भने विक्रमजित सिंहले ३० र साकिब जुलफिकरले अविजित २४ रनको योगदान दिए। बलिङतर्फ डानियल डोरामले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए।

यो खेल नेपालका लागि ऐतिहासिक रूपमा १००औं टी-२० अन्तर्राष्ट्रिय खेल पनि हो। यसमा किरण ठगुन्ना र रुपेश सिंहले पहिलो पटक राष्ट्रिय टोलीबाट टी-२० खेलमा पदार्पण गरेका थिए।

प्रतिक्रिया