काठमाडौं। भारतमा सवारी दुर्घटनामा परी चार नेपाली तीर्थयात्रीको मृत्यु भएको छ। दाङको तुलसीपुरबाट तीर्थ यात्रामा गएका उनीहरू सवार स्कार्पियो गाडी बिहीबार बिहान भारतको बहराइचमा दुर्घटनाग्रस्त भएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी तुलसीपुर–७ पर्सेनीका ३७ वर्षीय गाडी चालक युवराज चापागाईंसहित चारजनाको मृत्यु भएको छ। अन्य तीनजनाको नाम खुल्न बाँकी रहेको छ।
युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडीमा कुल नौजना सवार थिए। दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूको अवस्था बारे थप विवरण आउन बाँकी रहेको छ। प्रारम्भिक जानकारीअनुसार सबै यात्रु तुलसीपुरकै रहेको अनुमान गरिएको छ।