नेपालसहित विश्वभर आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आठ घन्टा काम, आठ घन्टा आराम, आठ घन्टा मनोरञ्जन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रममार्फत मनाइँदैछ। यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

यो दिवस सन् १८८६ मा अमेरिकाको सिकागोमा सुरु भएको ऐतिहासिक मजदुर आन्दोलनको स्मृतिमा मनाइन्छ। सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट क्षेत्रमा भएको बम विस्फोटपछि प्रहरीले आन्दोलनरत मजदुरमाथि गोली चलाउँदा सात मजदुरको ज्यान गएको थियो। ती घटनाहरूले विश्वभर श्रमिक अधिकारप्रति जागरुकता बढाउँदै अन्ततः श्रमिक आन्दोलनले सफलता हासिल गरेको मानिन्छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय भेलाले मे १ लाई विश्व श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेपछि सन् १८९० देखि हरेक वर्ष यो दिवस मनाइँदै आएको हो।

दिवसको अवसरमा विश्वभर मजदुरहरूले विभिन्न ¥याली, सभा, जुलुस तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आफ्ना हकअधिकारका लागि सरकार र रोजगारदातालाई दबाब दिने प्रयास गर्दछन्। नेपालमा पनि विभिन्न मजदुर संगठनहरूले राजधानीलगायत देशभर कार्यक्रम गरी दिवस मनाउने तयारी गरेका छन्।

नेपालमा पहिलोपटक वि.सं. २००७ सालमा विराटनगरबाट मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो भने वि.सं. २०४६ सालपछि सार्वजनिक बिदाको रूपमा मान्यता दिइएको हो।

 

प्रतिक्रिया