सिंहदरबारमा आज सांसदहरूको शपथ, विभिन्न भाषामा शपथ

काठमाडौँ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। दिउँसो २ बजे हुने कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराउनेछन्।

शपथ समारोह सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा आयोजना गरिनेछ। यसअघि रामचन्द्र पौडेल ले केसीलाई ज्येष्ठ सदस्यको रूपमा शपथ गराइसकेका छन्।

संघीय संसद सचिवालय का अनुसार शपथ कार्यक्रमका सबै तयारी पूरा भइसकेका छन्। यसपटक ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।

नेपालको संविधानअनुसार धारा ९९ र ९१(५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था गरिएको छ।

सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्वीर दुई प्रति सहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै, औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया