काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन र भदौ) ३३ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २३६ परियोजनामा करिब ३३ अर्ब ९ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको हो।
लामो समयदेखि सुस्त देखिएको वैदेशिक लगानीमा पुनः गति आएको विभागले जनाएको छ। साउन महिनामा १२७ परियोजनामा २४ अर्बभन्दा बढीको लगानी प्रतिवद्धता भएको थियो भने भदौमा थप १०९ परियोजनामा करिब ९ अर्ब बराबरको लगानी आएको हो।
लगानीमध्ये धेरैजसो कागजी प्रक्रियाबाट भए पनि १४३ परियोजना अटोमेटिक रुटमार्फत दर्ता भएका छन्। विभागका अनुसार ७ ठूला, ४ मध्यम र २२५ साना तथा मझौला उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ। भदौमा मात्रै ५ ठूला, ४ मध्यम र १०० साना तथा मझौला उद्योगका लागि लगानी प्रतिबद्धता गरिएको छ।
यस्तै, सो अवधिमा १७ प्रविधि हस्तान्तरण सम्झौता तथा शेयर खरिद/सब्स्क्रिप्सनमार्फत थप २ अर्ब ५० करोड लगानी प्रस्ताव भएको छ। यी परियोजना सञ्चालनमा आए ३३ हजार ८१४ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ।
हालसम्म नेपालमा कुल ७ हजार ४७५ परियोजनाका लागि ६ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता भएको छ।
क्षेत्रगत हिसाबले कृषि क्षेत्रमा सबैभन्दा ठूलो लगानी आएको विभागले जनाएको छ। साउन–भदौमा मात्रै कृषि मुलक ९ परियोजनामा २१ अर्ब ५९ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ। नेपालको जैविक विविधता, उब्जनी क्षमतामा सुधार र निर्यात योग्य उत्पादनको सम्भावनाले विदेशी लगानीकर्तालाई आकर्षित गरेको जानकारहरू बताउँछन्।
परियोजना संख्याका हिसाबले भने सूचना प्रविधि (आईटी) क्षेत्र अग्रस्थानमा छ। यस क्षेत्रमा १२० परियोजना दर्ता भएका छन्, जसमा ५६ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ। यीमध्ये धेरैजसो स्टार्टअप प्रकृतिका प्रोजेक्ट रहेको विभागले जनाएको छ।
यस्तै, पर्यटन क्षेत्रमा ७९ परियोजनाबाट करिब ६ अर्ब ७० करोड, सेवा क्षेत्रमा १५ परियोजनाबाट २ अर्ब ८२ करोड र उत्पादन क्षेत्रका १२ परियोजनाबाट करिब १ अर्ब २४ करोड लगानी प्रतिवद्धता भएको विभागले जानकारी दिएको छ।